काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता, कार्यक्रता र सदस्यका लागि ११ बुँदे जारी आचार संहिता सार्वजनिक गरेको छ ।
यस आचार संहितामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।
जसअनुसार पारिवारिक महत्वलाई मूख्य स्थानमा राख्न भनिएको छ ।
सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने भनी आचारसंहितामा बनाइएको छ ।
नेकपामा परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने समेत आचार संहितामा उल्लेख गरिएको छ ।
अब कुनै पनि कार्यक्रताले हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने गरी आचार संहिता ल्याइएको छ ।
नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने समेत आचार संहितामा राखेको छ ।
यी कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहारमा भने प्रतिबन्ध लगाइएको छ ।
मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्न भने छूट दिइएको छ ।
छुवाछुत र महिला हिंसा वर्जित गरिएको छ ।
आचार संहिता पालना नगरेमा वा पटकपटक सचेत गराउँदा पनि नसुध्रिए कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने सर्कुलर जारी भएको छ ।