काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
बिहीबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका नेपाल बालुवाटार पुगिसकेका छन् । गठबन्धनको बैठकमा सहभागी हुन उनी प्रधानमन्त्री निवास बालुवाटार गएको नेता विरोध खतिवडाले जानकारी दिए ।
‘अहिले २ बजे बालुवाटारमा शीर्ष नेताहरुको बैठक छ । त्यसले मन्त्रीहरुको नाम टुंगो लगाउँछ । माधव नेपालले त्यहीँ नै हाम्रो पार्टीबाट मन्त्री बन्नेको नाम दिनुहुन्छ । उहाँलाई हामीले अधिकार दिएका छौं’, उनले भने ।
नेता खतिवडाले मन्त्रालयको संख्या फेरबदल हुनसक्ने बताए । उनले आजको बैठकमा मन्त्री बन्नेको नामको विषयमा छलफल नभएको बताए ।
‘संख्या र मन्त्रालयको विषयमा केही फेरबदल गर्नुपर्ने साथीहरुको भनाइ छ । सम्भव भयो भने फेरबदलपछि नाममा पनि केही तलमाथि हुनसक्छ । सामान्यतया आज उहाँले टुंग्याएर आउनुहुन्छ ।’
मन्त्रालय बाँडफाँडको विषयलाई लिएर समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टि जनाएका छन् । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् ।
५ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आइरहेको थियो । तर, बुधबार बसेको सत्ता गठबन्धन दलबीच कंग्रेसले ७, माओवादी केन्द्रले ६, जसपा र एकीकृत समाजवादीले समान ४/४ मन्त्रालय पाउने सहमति भएको थियो ।
पार्टीमा २० जना बढी आकांक्षी भएपछि मन्त्री समाजवादीले सरकारमा पठाउने मन्त्रीको नामबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।