काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार र पार्टी संचालनका दौरान कमीकमजोरी भएकोमा शीर्ष नेतृत्वले आत्मआलोचना गरेको छ ।
पार्टी भित्रको चर्को विवादका सम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना सहित सच्चिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले गरेका कमी कमजोरी तथा पार्टीलाई बाइपास गरी भएका निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आत्मआलोचना गरेका थिए ।
ओलीले सरकार सञ्चालनका दौरान कयौँ कम्जोरीलाई लिएर बैठकमा आत्मआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सरकार सञ्चालनका क्रममा भएका कमी कम्जोरीका कारण पार्टीलाई परेको असरका सम्बन्धमा आफूले आत्मआलोचना गर्ने ओलीको भनाई थियो ।
सरकारका कामकारवाहीबारेमा आत्मआलोचित हुन तयार रहेको उनले बताए ।
सरकार सञ्चालन गर्दा पार्टीसँग गर्ने समन्वयलाई अब जीवन राखेर अघि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यकारी अध्यक्ष प्रचण्डले सरकारलाई पनि पार्टीबाट सक्दो साथ हुन नसकेको भन्दै आत्मआलोचना गरेका थिए ।
नेकपाले आगामी २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । यससँगै तत्काल पार्टी र सरकारमा परिवर्तनको छनक नेताहरुले देखाएनन् ।
जसअनुसार प्रधानमन्त्रीका लागि बामदेव गौतमलाई प्रधानमन्त्री ओलीले ललिपप मात्र देखाएको पुष्टी भएको छ ।
उनलाई उपयुक्त समय मिलाएर प्रतिनिधिसभामा लैजाने निर्ण भएको समेत बताइएको छ ।