काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । सरकारले ५ पुसमा संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलग भएको यो समुहले शुक्रबार काठमाडौंमा विशाल सभा आयोजना गरेको थियो । त्यसपछि आगामी कार्यक्रम तय गर्न आजको बैठक बोलाइएको हो ।
यसबीचमा नेताहरुले जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका नेताहरुसँग समेत भेट गरिसकेका छन् । प्रचण्ड र माधव कुमार नेपाल समुह संयुक्त आन्दोलनमा जाने र त्यसका लागि सर्वदलीय मोर्चा बनाउनु पर्ने पक्षमा छन् । अन्य पार्टीमा भने दई धार रहेको छ । एउटा धार निर्वाचनमा जाने रहेको छ भने अर्को धार आन्दोलनको पक्षमा देखिएको छ ।
आइतबार साढे १२ बजे बैठक भएको छ । यसअघि शनिबार समेत उपलब्ध स्थायी कमिटी सदस्यबीचमा केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे छलफल भएको थियो ।
आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुने भएको छ ।