काठमाडौं । आइतबार अबेर सार्वजनिक एक तस्वीरले राजनीतिक वृत्तमा पुनः एक बहस सिर्जना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु अगाडीका बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । यो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ।
ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी गराएकी छिन् । भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उनको भनाई छ । पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।