नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने निश्चित भएको छ । नेकपा भित्र प्रचण्ड-नेपाल समुहले बैंक खाता रोक्का गर्न निवेदन दिएको थियो । सबै बैंकहरुलाई निवेदन दिएसँगै बैंक खाता रोक्का प्रक्रिया अगाडी बढेको हो । आन्तरिक विवादपछि नेकपा विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकि छ ।

यसको छिनोफानो भने निर्वाचन आयोगले गर्नेछ । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता छन्, ति सबै बैंक खाता रोक्का हुने निश्चित भएको हो । निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने प्रावधान रहेको नेपाल राष्ट्र बैंकलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाता रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका हुन् । अन्य प्रक्रियामा ओली समुह अगाडी देखिएको छ ।

यसमा भने प्रचण्ड माधव नेपाल समुहले चलाखी गरेका छन् । विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेको नेपाल राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । विवाद भएपछि खाता सञ्चालन नहुने बताइएको छ । यस प्रकारका विवाद अन्य समयमा आउने भन्दै राजनीतिक दलको हकमा भने यो पहिलो भएको बैंकर्षहरुको भनाई छ ।