काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ ।
यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी समितिले अनुमोदन गर्न भने बाँकि रहेको छ ।
नेकपामा प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिरहेको छ । तर, भागबण्डामा सहमती भएपछि तत्कालका लागि नेकपा भित्रको विवाद सचिवालयबाटै कम भएको छ ।
त्यसलाई स्थायी समितिमा छलफल हुन बाँक रहेको छ । यसअघि स्थायी समितिमा लैजाने एजन्डाबारे नेताहरुबीच विभिन्न चरणमा छलफल भइरहेका छन् ।
मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गरेका थिए ।
दाहाल र नेपाल समूहका नेताहरु पनि एजेण्डाबारे छलफलमा छन् । पार्टीमा सल्लाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव उचाईमा पुगेको हो ।