धन लामा, कनेक्टिकट
नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो ।

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उदेश्यका साथ नेकोनले हरेक वर्ष गृष्मकालीन नेपाली भाषा पाठशाला संचालन गर्दै आएको छ । यस वर्ष पनि विश्व व्यापी महामारी कोभिड-१९ ले बनाएको असहज परिस्थितिमा आएको सुधारसंगै कार्यक्रमको निरन्तरता स्वरूप भाषा पाठशाला पुन: सुन्चालन गरिएको छ। विद्यालय शुरुआतको औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले गर्नु भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले नेपाली भाषा पाठशाला, देउसी, भैलो र वार्षिक मुखपत्र कनेक्टिकट चौतारी मार्फत नेपाली भाषा, कला र साहित्यको विकास तथा विस्तारमा नेकोनले गरेको योगदानको प्रशंशा गर्दै नेपाली पाठशालामा आवश्यक शैक्षिक सामाग्रीहरुको लागि महावाणिज्यदूतावासले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारीले नेपाली समुदायका सबैलाई पाठशाला संचालनमा सक्दो सहयोगको लागि आव्हान गर्नु भयो ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली भाषा पाठशालाका संयोजक दिपेश भट्टले व्यवस्थित र गुणस्तरीय ढंगले पाठशाला संचालन गर्ने वचनवद्धता प्रकट गर्नु भयो भने कार्यक्रमको संचालन नेकोनका सचिव राजन तिम्सिनाले गर्नु भाको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष नारायण पौडेले सम्पूर्ण सहभागी, विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।