नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

धन लामा, कनेक्टिकट

कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो ।

कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि तथा अतिथिहरुबाट संस्थाको मुखपत्र कनेक्टिकट चौतारी विमोचन गरिएको थियो भने, कार्यक्रमको दोस्रो चरणमा अतिथी कलाकारहरु वरिष्ठ गायिका कुन्ती मोक्तनको गायन, वरिष्ठ संगीतिकार शिला बहादुर मोक्तानको गायन, न्यूयोर्कका चर्चित नृत्यांगना बसन्ती राईको नृत्य तथा गायन र अन्य स्थानीय कलाकारहरु गायिका पुस्ताका खड्का, गायक तथा संगीतकर्मी केशव शर्मा दाहाल, साँस्कृतिक कार्यक्रम संयोजक रोमी योञ्जनको गायन, शंभी आचार्य, प्रकृति गिरी, प्रसंशा अर्याल, जेनी योञ्जन, रिदिमा खतिवडा, कुसुम कार्की, रिहाना घिमिरे, डोना गुरुङ र बाल-कलाकारहरु निश्चल दाहाल, कुशल दाहाल लगायतका सांगीतिक र नृत्य प्रतुतिहरु रहेका थिए ।

महामारी पछिको विशाल कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायिका कुन्ती मोक्तानको प्रस्तुतिमा सम्पूर्ण सहभागीहरु झुमेर नाँचेका थिए। साँस्कृतिक कार्यक्रमको अन्त्यमा डिजे जाङ्गबु को डिजे म्युजिकले विश्वव्यापी महामारीको पिडालाई केही समयको लागि भए पनि राम्ररी भुलाएको थियो ।

नेपाली र अमेरिकी राष्ट्रिय गाना बजाएर शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका कायम मुकायम महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले पानसमा बत्ति बालेर औपचारिक रुपमा शुभराम्भ गरि सकेपछि नयाँ वर्ष २०७९ को शुभकामना दिनु हुँदै वर्तमान परिप्रेक्षमा नेपाललाई विदेसिएका नेपालीहरुको अझ बढी माया र सहयोगको जरुरत रहेको बताउनु भयो । त्यस्तै गरि महावाणिज्यदूतावासबाट प्रदान गरिने सेवाहरु छिटो छरितो र प्रभावकारी बनाउन आफू प्रतिवद्ध रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र अतिथिहरु एनआरएन कनेक्टिकट च्याप्टरका अध्यक्ष मुना तिवारीले नयाँ वर्ष २०७९ को उपलक्षमा शुभकामना मन्तव्य दिनु भएको थियो भने कनेक्टिकट चौतारी २०७९ का प्रधान सम्पादक पंकज पनेरुले मुखपत्र प्रकाशनले नेपाली समाजलाई दिएको सम्भावना र अवसरको बारेमा बोल्नु भएको थियो ।

संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु थियो भने साँस्कृतिक कार्यक्रमको संचालन सानुमाया महर्जन र पंकज पनेरुले गर्नु भएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष नारायण पौडेलले सम्पूर्ण कनेक्टिकट निवासी तथा स्वदेश र विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

कार्यक्रममा नयाँ आजीवन सदस्य हिक्मत ब. थापा, कनेक्टिकट चौतारी २०७८ का सम्पादक तथा मिडिया कोअर्डिनेटर धन लामा, कनेक्टिकट चौतारी २०७९ का सम्पादक पंकज पनेरु, नयाँ वर्ष तथा बुद्ध जयन्ति संयोजक रोमी योञ्जन, नेपाली भाषा विद्यालय संयोजक दिपेश भट्ट, सम्मर पिकनिक संयोजक तेजेस बि. मल्ल, दशैं भलिबल संयोजक रिंकु श्रेष्ठ, तिहार कार्यक्रम संयोजक कुलदिप अधिकारी, कोभीड-१९ सहयोग तथा रक्तदान कार्यक्रम संयोजक संजय पन्त, पार्क रोड परेड संयोजक नारायण मिश्र, भानु जयन्ति संयोजक लक्ष्मी बजगाईं र दशैँ कार्यक्रम संयोजक बालकृष्ण कार्की लगायतलाई प्रमुख अतिथीको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।