नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

धन लामा, कनेक्टिकट

अमेरिकाको कनेक्टिकट राज्यमा २०८ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहका बीच सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश भट्टराई, बसन्ता न्यौपाने, गृष्मा न्यौपाने, वानीरा ढकाल, डा. केशव आचार्य, शिव न्यौपाने, अर्जुन दाहाल, सीता बजगाईं, पशुपति पराजुली (सालघारी), डोना गुरुङ, सन्तोष सिंह, विनोद ओझा, गायिका पुस्ताका खड्का, कवि गायक लक्ष्मी बजगाई र धन लामा लगायत कवि तथा कवयत्रीहरूले आफ्नो काव्य रचनाहरु वाचन गर्नु भएको थियो । कवि डा. केशव आचार्यको धाराप्रवाह भाव र बिम्बले ओतप्रोत कविताले सम्पूर्ण दर्शक/श्रोताको मन जितेको थियो ।

कनेक्टिकट राज्यको राजधानी हार्टफोर्डको स्थानीय ऐलिजावेथ पार्कको रमणीय गुलाबको बगैंचामा कवि तथा गीतकार धन लामाको शब्द, गायक केशव शर्मा दाहाल र गायिका बिनुसा राईको स्वर र केशव शर्मा दाहाल कै संगीतमा सजिएको “भानु तिम्रो रामायणले मैले राम जाने” बोलको गीत-भजन कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यू मार्फत अडियोको लोकार्पण गरे पश्चातको सात मिनेट गीत भजनको लयमा सहभागी दर्शक र सिंगो एलिजावेथ पार्क नै भानुमय भएको थियो । कनेक्टिकट नेपाली समाजका प्रमुख सल्लाहकार कृष्ण अधिकारी, पूर्व अध्यक्षहरु घनश्याम खड्का, तेजेसविक्रम मल्ल र जितेन्द्र बस्नेत समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रौढ तथा बालवालिकाहरु सहित उल्लेख्य मात्रमा नेकोनका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन तथा समन्वय कवि तथा गायक लक्ष्मी बजगाईंले गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले सहभागीहरुलाई स्वागत मन्तव्य दिंदै आदिकवि भानुभक्तको जीवनी माथि प्रकाश पारिसके पछि मुख्य विषयमा प्रवेश गरेको सो कार्यक्रमको सन्चालन समाजका सहसचिव बालकृष्ण कार्कीले गर्नु भएको थियो । कार्यक्रमलाई नून-चिनी पानी अमेरिकाका अभियन्ता अर्जुन दाहालले DCNepal को आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत गर्नु भएको थियो । २०८ औं आदिकवि भानु जयन्ति तथा “भानु तिम्रो रामायणले मैले राम जाने” गीतको लोकार्पण समारोहको समापन गर्दै कार्यक्रमका सभापति तथा (नेकोन) अध्यक्ष नारायण पौडेलज्यूले नेपाली भाषा साहित्यको विकास र सँस्कृतिको उत्थानमा गर्न सकिने र सम्भव हुने सबै कार्यहरु गर्न समाज सदैव तत्पर रहेको जानकारी गराउनु भयो ।