धन लामा , कनेक्टिकट
कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले आफ्नो समुदायका सदस्यहरुको हितलाई मध्यनजर गर्दै फेब्रुवरी २८ आईतवारको दिन कर दाखिला सम्बन्धि चेतनामूलक कार्यशाला जुम भर्चुअल सेसन मार्फत सम्पन्न गर्यो ।
नेपाली समुदायकै सिपिएद्वय विजय अधिकारी र मधु अर्यालद्वारा सहजीकरण गरिएको सो कार्यशालामा, कोभिड – १९ ले ल्याएको नयाँ परिवेशमा व्यक्तिगत तर्फ संघीय सहायता (Stimulus Check), थप बेरोजगार भत्ता र साना व्यवसाय तर्फ महामारी प्रकोप ऋण, पेचेक प्रोटेक्सन (PPP) ऋण र अन्य समसामयिक ट्याक्स ब्राकेटहरुको विषयमा सहभागी सदस्यहरुलाई सुसुचित गरिएको थियो । कार्यक्रममा सहभागी सदस्यहरुहरुले उठाउनु भएका कर सम्बन्धि अन्य विविध जिज्ञासाहरुलाई समेत सहजकर्ताद्वयले प्रष्ट्याएका थिए ।

भर्चुअल जुम मार्फत करिब ५० जनाको सहभागिता रहेको सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण पौडेलले गरेको थियो । उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य दिनु भएको सो कार्यक्रमको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गरेका थिए । कार्यक्रमको समापन गर्दै आगामी दिनहरुमा पनि समुदायका सदस्यहरुका हितका निम्ति यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै जाने दृढता कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष नारायण पौडेलले व्यक्त गर्नु भयो ।