काठमाडौं , नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा बिहिबार आयोजित एक समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।
राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे। साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन्। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा काठमाडौं आएका हुन्।