नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ ।

अहिलेसम्म कुल क्षतिको अनुमान भने भएको छैन । प्रारम्भिक रुपमा बालीहरूमा सलहले असर पुर्‍याउन थालिसकेको केन्द्रको भनाई छ । नेपालमा शनिबारबाट सलह छिरेको हो । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्ड अहिले नेपालभर बिस्तार हुने क्रममा रहेको छ ।

बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा त्यहाँबाट उत्तरतर्फका पहाडी भेगमा उडिरहेको छ । महोत्तरीको बर्दिवास र मकवानपुरगढीसहित सिन्धुलीमा समेत सलह पुगिसकेको छ । उता, मकवानपुरको बकैया र हेटौंडामा पनि सलह पुगेको छ । चितवनमा समेत सलहको उपस्थिति छ काभ्रे र रामेछापमा समेत सलह पुगिसकेको छ ।

रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा सलह आएको हो । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा ठूलो झुण्ड देखिएको हो । यसले कपिलवस्तु, पाल्पा र गुल्मीमा समेत प्रभाव पारेको छ । स्याङ्जा, दाङ प्युठान र रोल्पामा समेत सलह देखिएको छ । कास्की समेत यसबाट अछुतो छैन ।