सुपेन्द्र बस्नेत, मासाच्युसेट्स
अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनेहरुले नेपालकै झल्को दिने गरी कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल डे’ न्यू इंग्ल्याण्डमा इतिहासमै पहिलो पटक नेपालीहरुको खुला बृहत सहभागिता भएको कार्यक्रम हुन पुगेको उनिहरुको मुल्याङ्कन रहेको छ। कार्यक्रममा फरफराएका नेपालको झण्डाहरु, नेपाली भेषभुषामा सजिएका सहभागीहरु, उनिहरुले बोलेका नेपाली भाषा, प्रस्तुत भएका नेपाली साँगीतिक कोसेलीहरु, नेपाली परिकार तथा सरसामानका स्टलहरु लगायतले कार्यक्रम स्थल नेपालमय भएको थियो। कार्यक्रम बोस्टन स्थित मूलवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा अगष्ट ६ तारिख आइतवारका दिन सम्पन्न भएको हो। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनलाई केन्द्रमा राखेर गरिएको कार्यक्रम अपरान्ह १२ बजेदेखि साँझ अबेरसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा आयोजना गरिएको थियो।

कार्यक्रम आयोजक संस्था जिबिएनसिकी अध्यक्ष अन्जु थापाले पनि सहभागीहरुको प्रतिक्रियालाई आधार मान्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएकी छिन्। नेपाली समुदायले इतिहासमै पहिलो पटक बृहत सहभागिता जनाउदै सामुदायिक एकता प्रदर्शन गरेको अध्यक्ष थापाको ठम्याइ छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै उनले भनिन् , ‘कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हामी सबैको अथक प्रयासबाट मात्र यो इतिहास रचिन सम्भव भएको हो। यसका लागि सहयोगी संस्था एभरेट सिटी, अन्य संघ संस्थाहरु, कार्यसमिति, सदस्यहरु, प्रेस, कलाकारहरुलगायत सबै सहयोगीहरुलाई आयोजकको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ कार्यक्रमको दौरानमा कमी कम्जोरी भएको भएमा क्षमा प्रार्थी छौं भन्दै उनले ३४ वर्षको इतिहास रहेको जिबिएनसिको कार्यक्रमलाई सबैको साथ सहयोगमा अझ राम्रो गर्न प्रयास गरिने विश्वास समेत दिलाइन्।


कार्यक्रममा एभरेट सिटिको तर्फबाट इडिआइ विभागकी निर्देशक (Director of EDI Department) क्याथी ड्राइन(Cathy Draine)को सहभागीता रहेको थियो। उनले कार्यक्रमको सफलताको कामना गर्दै सिटीकी मेयर डेमारिया(Demaria)ले दिएको शुभकामना सन्देशसमेत सुनाएकी थिइन्। यसैगरी, कार्यक्रम स्थलमा समरभिल सिटिकी मेयर क्याट्ज्याना ब्याल्यानटिन(Katjana Ballantyne ( Mayor of Somerville)को पनि उपस्थिति रहेको थियो। उनले आयोजित कार्यक्रम निकै आकर्षक र सबैका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन्। संस्थागत प्रतिनिधित्व गरेका दुबैले कार्यक्रमको महत्व, प्रभाव र परिणामको चर्चा गर्दै आगामी दिनहरुमा पनि नेपाली समुदायसंग मिलेर काम गर्ने र सक्दो सहयोग गर्ने विश्वास दिलाएका थिए।


कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। नेपालको राष्ट्रिय गान गाएर र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुभारम्भ गरिएको साँगीतिक कार्यक्रमको सञ्चलन सन्देश मुनान्कर्मी, अशोक काफ्ले र आर्जु पराजुलीले गरेका थिए भने, प्राविधिकको जिम्मेवारी मुकुन्द पोखरेलले सम्हालेका थिए।

बृहत् साँगीतिक कार्यक्रमका मूख्य आकर्षण नेपालका चर्चित गायक सुगम पोखरेल रहेका थिए। उनले नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्दै आफ्ना चर्चित गीतहरु पस्किएर सहभागिहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। पोखरेलले आफ्ना चर्चित गीतहरु-फेरी त्यो दिन संझन चाहन्न…, सम्हालिन्छ कहिले मन…, मेरो एउटा साथी छ…,वर्षमा दिनमा लै लै…लगायत गाएका थिए भने, स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिहरुले कार्यक्रमलाई थप वजसी र मनोरञ्जनात्मक बनाउन सफल भएको थियो। सहभागीहरुले पनि गर्वीलो नेपालीत्व र अपनत्व महसुस गर्दै साँगीतिक माहोलमा भरपूर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको अर्को आकर्षणको पाटो थियो नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ७ वटा, नेपाली पहिचान बोकेका सामानहरुका ६ वटा र संस्थागत ७ गरी कुल २० वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो भने, कार्यक्रममा ७ वटा प्रायोजकहरु रहेका थिए।

जिबिएनसिका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उल्लेखनीय संख्यामा सहभागीहरुको उत्साहजनक उपस्थितिले कलाकारहरु, स्टल राख्नेहरु, आयोजकहरुलगायत सबैलाई निकै खुशी तुल्याएको बताउदै उनले भने, ‘दिन छोटो लाग्यो। पहिला लामो दिन छ, ६/६ घण्टाको कार्यक्रम कसरी गर्ने होला भन्ने लागेको थियो। अहिले चाही समय छोटो भएको अनुभूति भएको छ। यस आधारमा के भन्न सक्छौं भने-‘यो ‘नेपाल डे’ एकदम सफल भएको छ।’ संयोजक शेर्पाले सम्पन्न कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षमा अझै राम्रो गर्ने जनाए। उनले कार्यक्रम भव्यताका साथ सफल बनाउन प्रतक्ष्य तथा परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

जिबिएनसिले समरभिल सिटिको साथमा सन् २०१२ बाट ‘नेपाल उत्सव’ मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो ‘नेपाल उत्सव’ मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि गत वर्ष चौथो ‘नेपाल उत्सव’ मनाइएको थियो। यस वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरि एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे’ मनाइएको हो। कार्यक्रममा ४ हजारको सहभागिता रहेको अमुमान गरिएको छ।