नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं । ब्याटिङमा रहेको समस्या सुधार गर्न नसक्दा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले हारेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । आइतबार स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । काएल कोत्जरले अविजित ४४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए । त्यसअघि ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए । कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन मात्र बनाउन सके । स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए । तीन हार बेहोरेको नेपाल भने २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ ।