नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

Photo source : Onlinekhabar

काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा\मूर्ति नेपाल फिर्ता गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । यी मूर्ति अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा दुईवटा र तिब्बत हाउस ग्यालरीमा एक वटा थिए ।

मूर्ति र काष्ठकलाका रुपमा रहेको यी सम्पदा सोमबार मात्र नेपाल ल्याइएको हो । फिर्ता गरिएका सम्पदाहरुमा ओम बहालस्थित न्हुँच्छे बहाःबाट चोरिएको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेको काठको कलात्मक तोरण र इटुम्बहालबाट चोरिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला हो ।

बुधबार पुरातत्व विभागमार्फत् राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अभिलेखालयको सभाहलमा भएको कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्स्च्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति तथा काष्ठकला हस्तान्तरण गरेका छन् ।

फिर्ता गरिएका सम्पदामध्ये प्रस्तरको बुद्धमूर्ति १३ औं शताब्दीको मानिएको छ । जसलाई म्युजियमले फिर्ता गर्ने बेलामा ३० हजार अमेरिकी डलर मूल्य तोकेको थियो । काठको कलात्मक तोरण १७ औं शताब्दीको मानिएको छ । जसको मूल्य एक लाख १० हजार रुपैयाँ तोकिएको थियो भने १४ औं शताब्दीको मानिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकलाको मूल्य २२ हजार रुपैयाँ मानिएको थियो । ती मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिने र सम्बन्धित स्थानीय तहले सुरक्षाको प्रत्याभूति दिलाएपछि सम्बन्धित ठाउँमा प्रतिस्थापन गरिने विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराए ।