नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १२६.७८ रुपैयाँ पुगेको थियो । गत सातादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ ।

सोही क्रममा बुधबार हालसम्मकै उच्च दरमा पुगेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) र नेपाली मुद्रामा समेत आएको हो । डलर बलियो बन्दा नेपालमा आउने रेमिट्यान्सको आकार ठूलो बन्छ । जसका कारण नेपाललाई फाइदा पनि पुग्छ । तर, बस्तु आयात गर्दा भने नेपालले महंगो सामान किन्नु पर्छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएको मुलुक हो । निर्यातमा समेत डलरको मूल्यले सकारात्मक प्रभाव पार्छ ।