नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई आगामी साताबाट स्वास्थ्य सामग्री सहयोग गर्ने बचन दिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन वार्ता गर्दै यस्तो आश्वासन दिएका हुन् । उनका अनुसार आगामी साताबाटै स्वास्थ्य सामग्री नेपाल आउन थाल्ने जानकारी आएको उप्रधानमन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छ ।

सामग्री के हुनेछ भन्ने चाँही खुलेको छैन । राजदूत बेरीले खोप सहायता दिने बारे समेत पहल गरिरहेको जानकारी गराएका छन् । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराउन आग्रह गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको नेपाललाई खोपको आवश्यकता रहेको भन्दै अमेरिकी सरकारको सहयोग चाहेको उल्लेख गरेका थिए ।

उनले खोपसँगै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, अस्थायी अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिको सहयोगको अपेक्षा अन्तर्राष्ट्रिय समुदायबाट गरिएको उनले बताएका छन् । बेरीले नेपालमा रहेका अमेरिकी नागरिकलाई घर फर्काउन हवाई उडानको अनुमति समेत माग गरेका छन् ।