नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

काठमाडौं । नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत पुगेको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६\७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७\७८ मा उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको पाइएको छ । परिसङ्घले त्रैमासिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अङ्क राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले शुक्रबार सार्वजनिक गरे ।

प्रतिवेदनमा गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको कुल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड–१९ महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको पनि देखाएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औसतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् ।

उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ६६.१ प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरूले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।