नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज

कैलाली । नेपालमा एकै दिन तीन जनाले कोरोनालाई जित्दै अपस्तालबाट डिस्चार्ज हुन सफल भएका छन् । बिहीबार साँझ कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् ।

उनी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की स्थायी बासिन्दा हुन् । सेती प्रादेशिक अस्पतालले उनलाई बिहीबार साँझ डिस्चार्ज गरेको हो ।

यसअघि बिहीबार दिउँसो ८१ वर्षिय वृद्धा र ५८ वर्षिय पुरुषले कोरोनालाई जित्दै घर फर्किएका थिए । कैलालीमा महिलाको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् । पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अब धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

उनी निको भएपछि सुदुरपश्चिम तत्कालका लागि कोरोनामुक्त हुनेछ । किनकी उनीहरुपछि यस क्षेत्रमा कोरोना देखिएको छैन ।

यससँगै अब नेपालमा कूल १० जनाले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कूल ४७ जनामा कोरोना देखिएको छ ।