काठमाडौं । सरकारले नेपालमा गुड्ने ट्याक्सीका लागि नयाँ मापदण्ड तोक्ने भएको छ । विद्युतीय सवारीलाई समेत ट्याक्सीका रुपमा उपयोग गर्न सकिने गरी सरकारले नयाँ मापदण्ड ल्याउने तयारी गरिरहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार पहिलो पटक विद्युतीय गाडीलाई ट्याक्सीका रुपमा मान्यता दिने गरी मापदण्ड बन्दैछ । त्यसका लागि भने मापदण्ड पुरा भएको हुनुपर्छ ।
मंहगो शूल्क तिरेर यात्रा गर्नुपर्ने ट्याक्सीसमेत थोत्रा र फोहोर हुने जनगुनासो व्यापक उठ्ने गर्छ । सोहीकारण सरकारले नयाँ मापदण्ड तोक्न लागेको हो ।
अब विद्युतबाहेक अन्य इन्धनबाट चल्ने ट्याक्सी भने सेडानको मात्र हुनुपर्ने भएको छ । यसअघि ह्याचब्याक गाडीलाई ट्याक्सीमा रुपमा प्रयोग गरिँदै आएको छ ।
सेडानको सवारी साधन ह्याचब्याकको तुलनामा लामो हुन्छ र लक्जरी समेत हुन्छ । भित्र फराकिलो हुन्छ । सामान राख्न प्रयोग हुने डिक्कीसमेत फराकिलो हुन्छ ।
विभागका अनुसार मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको हो । तर जारी भने यातायात व्यवस्था विभागबाट हुने प्रचलन रहेको छ ।