काठमाडौं । नेपालमा मंगलबार थप दुई कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टी गरेको हो ।
उनीहरु दुबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेको बताइएको छ ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
यससँगै अ नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना भने निको भएर घर फर्किसकेका छन् ।