नेपालमा पक्राउ परेका अफगानी नागरिकमध्ये ५ जना मेक्सिकोतर्फ लागे

काठमाडौं । अफगानिस्तानबाट भागेर नेपाल आइपुगेका ११ जना अफगानी नागरिकभ्ये ५ जना मेक्सिको तर्फ लागेका छन् । उनीहरुकै रोजाईमा अध्यागमन विभागले आइतबार श्रीलंका हुँदै मेक्सिको पठाएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल आएका थिए । कुल ११ जना आएकोमा ५ जनालाई नेपालबाट पठाइएको छ ।

६ जना अझै अध्यागमन विभागको नियन्त्रणमा छन् । नेपालबाट हिँडेकाहरु श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको लागेका हुन् । आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेको समाचारमा उल्लेख छ । उनीहरू एकै परिवारका हुन् ।

विभागले ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको उल्लेख छ । बिनाभिसा नेपाल आएको भएपनि उनीहरुको साथमा वैध राहदानी भेटिएको छ । सोहीकारण उनीहरुलाई विभागले अनअराइभल भिसा दिएर नेपाल बसाई सहज बनाइ दिएको छ ।