काठमाडौं । नेपालमा कोरोना परीक्षणका लागि पीसीआर विधिको दायरा बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस विधिबाट गरिएको परीक्षणबाट यकिन तथ्य प्राप्त हुनछ ।
नेपालमा अहिलेसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ।
सरकारले चीनर स्वीटरल्याण्डबाट पीसीआर कीट आएपछि यसको परीक्षणलाई बढाएको हो ।
अहिले विदेशबाट फर्किएका, संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेका व्यक्ति र जोखिमपूर्ण क्षेत्रलाई लक्षित गरी कोरोनाको परीक्षण बढाइएको छ ।
नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ । पछिल्लो २४ घण्टामा भने नयाँ संक्रमित देखा परेनन् ।
अहिलेसम्म ७८ पुरुष र ३२ जना महिलामा कोरोना देखिएको छ । प्रदेश १ मा ३५, प्रदेश २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टी भएको छ । उनीहरुमध्ये ३१ जनाले कोरोनालाई जितिसकेका छन् ।
अहिले वीरगञ्जमा २७, विराटनगरमा २१, बुटवलमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी काठमाडौंमा ३ र काठमाडौं बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।