नेपालमा पुनः ठूलो वर्षाको आंकलन

फाइल तस्वीर

काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गएको चक्रवातले नेपालमा समेत प्रभाव पार्ने भएको छ । चक्रवातको प्रभावले नेपालमा पनि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षाको सम्भावना रहनेछ । उक्त चक्रवात उत्तर आएमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षा हुनेछ । शनिबारसम्म चक्रवातको रुप पत्ता लागिसक्ने भएको छ ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले पनि नेपालमा मनसुन सक्रिय छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । प्रदेश १ बाहेकका क्षेत्रमा भने शुक्रबार मौसम सफा रहने छ ।