ज्ञानमणि न्यौपाने
१४ साउन, काठमाडौं चिकित्सा विज्ञान थप आधुनिकतातर्फ मोडिदा योगाभ्यासको प्रचलन पनि बढ्दै गएको छ । योग पहिलो पटक नेपालबाट शुरु भएको हो । यो नेपाल र भारतको आध्यात्मिक प्रक्रिया हो, जसले शरीर, मन र विचारलाई एकसाथ प्रभावित पार्छ । यसलाई बौद्ध, हिन्दु, जैन लगायत धर्मसँग जोडेर हेर्ने गरिन्छ । योग शब्द नेपालबाट उत्पन्न भएर भारत–चीन हुँदै एसियाभर फैलिएको शास्त्रीय विश्वास रहेको छ ।
योगको सुरुवात शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ । शिव–पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत् खण्डमा यसको चर्चा छ । योग अहिले संसारकै एक प्रमुख स्वस्थकर विधिका रुपमा स्थापित भएको छ । भागवद् गीतामा समेत योग शब्दको पटक–पटक प्रयोग गरिएकाले धार्मिक तथा शास्त्रीय कालदेखि नै प्रयोग गरिएको पुष्टि हुन्छ ।
नेपालबाटै मनुस्मृतिका पालादेखि योग शुरु भएकाले विदेशी नागरिकका लागि नेपाली योगा आकर्षक बनेको हो । पछिल्लो समय नेपालमा बर्सेनि हजारौं विदेशी योग सिक्नका लागि आउने गरेको योग गुरु डा. चिन्तामणाी गौतम बताउँछन् । उनका अनुसार अमेरिकी महादेश, यूरोपियन र एसियाका सबैजसो देशबाट नेपालमा हजारौं योग सिक्न आउने गरेका छन् ।
काठमाडौं उपत्यकामा योग सिकाउनका लागि विभिन्न केन्द्रहरु खोलिएको छ । योगको बजार अहिले पोखरासम्म समेत पुगेको छ । गौतमबुद्ध, महर्षि पतञ्जलि, मनु, वाल्मीकि, विश्वामित्र लगायतले नेपालमा योगको अभ्यास गरेका थिए । त्यसो त भगवान श्री भोलेनाथले नेपालको हिमालयबाटै योगको शुरु गरेको मानिन्छ । योगको अभ्यासबाट मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने गौतम बताउँछन् ।
योगमा पनि भारतको दाबी
भगवान गौतम बुद्धको जन्मस्थललाई आफ्नो दाबी गर्ने भारतले योगलाई पनि आफ्नो देशबाट सुरु भएको कुरा बेलाबेलामा दाबी गर्ने गरेको छ । नेपालबाट शुरु भएको योगलाई भारतले संयुक्त राष्ट्रसंघमा भारतबाट शुरु भएको भनेर सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा गरेको उक्त प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । त्यसपछि १ सय ७७ देशले उक्त प्रस्तावमा समर्थन गरेपछि महासभाबाट उक्त प्रस्ताव पारित भयो । सन् २०१५ को जुन २१ देखि हरेक वर्ष यो दिवस मनाइन्छ । तर, योगको शुरुवात नेपाल भए पनि नेपालले भने यसबाट फाइदा लिन सकेको छैन ।

नेपालले योगका बारेमा प्रचारप्रसार नगर्दासमेत अहिले हजारौं विदेशी योग सिक्न आउने गरेका छन् । प्रचारप्रसार गर्न सकेको अवस्थामा यसबाट नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने निश्चित छ । नेपालमा विक्रम संवत २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन–अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । पछिल्लो समय भने योगको विकास बढ्दै गएको छ । यसले व्यावसायिक रुप लिएको छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख–शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आर्युवेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एशोसियसन अफ नेपालले जनाएको छ ।
नेपालमा जनशक्ति उत्पादन बढ्दो
त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष स्नातकोत्तर अर्थात् मास्टर्स गर्नेहरु पासआउट भएका छन् । झण्डै ३० जनाले योगमा स्नातकोत्तर गरे । अब दोस्रो ब्याच पासआउट हुने तयारीमा रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विद्यावारिधि गर्नेको संख्या पनि एक दर्जन पुगिसकेको छ । डा. चिन्तामणि गौतम, डा. राजु अधिकारी, डा. पवनमान सुवेदी, डा. दीपक आचार्य लगायतले योग विज्ञानमा विद्यावारिधि गरेका छन् ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । अन्य संघसंस्थाले पनि योगको तालिम दिने गरेका छन् । नेपालभर योग सिकाउने ६ सय संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने नेपालीभन्दा पनि प्रायः विदेशी छन् ।
नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । नेपालमा योग शिक्षा लिई विदेश गएका जनशक्तिले मासिक रु. एक लाखदेखि चार लाखसम्म प्रशिक्षण दिएरै कमाइरहेका छन् ।
किन गर्ने योग ?
हालका वर्षहरुमा योगको लोकप्रियता उल्लेखनीय रुपमा वृद्धि भएको छ । बिहानै उठेर मर्निङ वाक गर्ने, ध्यान तथा योग अभ्यासमा सहभागी हुने व्यक्तिहरुको संख्या दिनानुदिन बढिरहेको छ । धेरै मानिसले योगलाई स्वस्थ, सन्तुलित र दीर्घजीवी जीवनशैलीको आधारका रुपमा स्वीकार गरेका छन् ।
विशेषज्ञहरुका अनुसार, योग न केवल रोग निवारणको प्राकृतिक माध्यम हो, यसले मानसिक, शारीरिक र आत्मिक सन्तुलन कायम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ । पछिल्ला विभिन्न अनुसन्धानहरुले पनि योगलाई दीर्घकालीन स्वास्थ्यका लागि अपरिहार्य अभ्यासका रुपमा पुष्टि गरेका छन् ।
योग विशेषज्ञहरुका अनुसार, योगले मानिसलाई आत्मपहिचान गराउन मद्दत गर्दछ । नियमित योग अभ्यासबाट ‘म को हुँ ?’, ‘मेरो कर्तव्य के हो ?’ भन्ने गम्भीर प्रश्नप्रति उत्तर खोज्ने चेतना जागृत हुन्छ । यसले व्यक्तिगत अनुशासनको विकासका साथै सकारात्मक समाज र समुन्नत राष्ट्र निर्माणको परिकल्पनातर्फ प्रेरित गर्दछ ।
योग गुरु डा. चिन्तामणि गौतम भन्छन्, ‘योग भनेको जीवन उपयोगी नियम हो । यो प्राकृतिक जीवनशैलीमा फर्कन सक्ने अचूक माध्यम पनि हो । जब हामी कृत्रिम जीवनशैली र असन्तुलित खानपानतर्फ आकर्षित भइरहेका हुन्छौं, योग अभ्यासले हामीलाई पुनः स्वाभाविक र सन्तुलित जीवनशैलीतर्फ डो¥याउँछ । यसले प्रकृति र जीवनलाई सँगसँगै अगाडि बढाउन मद्दत गर्दछ । समाजमा रोगव्याधी मात्र होइन, आपराधिक मनोवृत्ति कम गर्न पनि यसले ठूलो सहयोग गर्छ ।’
स्वस्थ जीवनशैली निर्माणमा योगको भूमिका महत्वपूर्ण छ । नियमित अभ्यासबाट शरीरलाई लचिलो, ऊर्जावान र रोग प्रतिरोधी बनाउन सकिन्छ । विशेषतः पछिल्लो समयमा बढ्दो अव्यवस्थित जीवनशैली, मानसिक तनाव, असन्तुलित आहार र शारीरिक निष्क्रियता जस्ता कारणले उत्पन्न भएका जीवनशैलीजन्य रोगहरुको नियन्त्रण तथा निवारणमा योग प्रभावकारी उपायको रुपमा स्थापित भएको छ ।
योगले केवल स्वास्थ्यमा मात्र नभई शिक्षा, आचरण, भोजन संस्कृति र सोचमा समेत सकारात्मक प्रभाव पार्दछ । नियमित योग अभ्यासबाट आत्मविश्वास अभिवृद्धि हुने, क्रोध, तनाव, रिस जस्ता नकारात्मक भावनाहरु न्यून हुने र जीवनमा सकारात्मक सोच उत्पन्न हुने गरेका छन् ।
योगले शरीरमा तनाव र चिन्ताका कारण उत्पन्न हुने हर्मोेनहरुलाई सन्तुलनमा ल्याउने कार्य गर्दछ । यसको परिणामस्वरुप मानसिक शान्ति प्राप्त हुने र दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य पनि सुदृढ हुने गर्दछ । त्यसैले हरेक उमेर समूहका मानिसका लागि योग अभ्यास अत्यन्तै लाभदायी र आवश्यक छ । आजको व्यस्त, तनावपूर्ण र प्रदूषित जीवनशैलीबाट मुक्त भई स्वस्थ, सन्तुलित र आनन्दमय जीवन बिताउन योग उत्तम अभ्यास साबित भएको छ । त्यसैले पश्चिमा देशका नागरिकहरु पूर्वीय दर्शन र योगका सन्दर्भमा बढी रुचीकर बन्न थालेका छन् ।
वार्षिक ७ हजार पर्यटक आउँछन् नेपाल
नेपालमा योग पर्यटन तीव्ररुपमा फस्टाउँदै गएको छ । विशेषगरी काठमाडौं र पोखरामा विदेशी योग पर्यटक बस्न रुचाउने गरेका छन् । गर्मी समयमा धेरै गर्मी नहुने र जाडो समयमा तापक्रम माइनसमा नजाने भएका कारणले गर्दा काठमाडौं, पोखरा लगायतका पहाडी क्षेत्र योग अभ्यासका लागि उपयुक्त मानिन्छ । यिनै कारणले ती क्षेत्रमा योगसम्बन्धी संस्था र पूर्वाधारमा लगानी पनि बढेको छ । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी पनि योग सिक्न आउने विदेशी पर्यटकको गन्तव्य बन्न थालेको छ ।

हालसम्म नेपाल सरकारको कुनै पनि निकायले योग पर्यटनसम्बन्धी औपचारिक तथ्यांक संकलन नगरेको भए पनि निजी संस्थाहरुको विवरणले यसको वास्तविकता बताउन सकिन्छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अघिल्लो वर्षभन्दा सन् २०२४ मा नेपालमा पर्यटकको संख्या बढे पनि योग पर्यटनका लागि आएकाको संख्या उपलब्ध नभएको जनाएको छ । यसमा सबैभन्दा धेरै भारत र त्यसपछि अमेरिकाबाट नेपाल घुम्न आउनेहरु रहेका छन् ।
नेपाल योगा एकेडेमी र पञ्चेश्वरी योगा रिट्रिटका तथ्यांकअनुसार, महामारीपछिको समयमा विदेशी योग पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । यस्ता संस्थाहरु नेपालभर करिब १५ वटा रहेका छन् । एक संस्थामा मात्र वार्षिक २ सय जना विदेशी योग टिचर बन्ने र ३ सय हाराहारीमा रिट्रिटका लागि आउने गरेका अनुमान गरिन्छ । त्यसलाई आधार मान्दा नेपालमा पछिल्लो एक वर्षमा करिब ७ हजार विदेशी योग पर्यटक आएका छन् । यी संस्थाबाहेक पनि व्यक्तिगत सम्पर्कबाट पनि नेपालमा योग पर्यटक आउने गरेका छन् ।
यी पर्यटकले औसतमा प्रतिदिन ६ हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च गर्छन् । योग टिचर बन्ने अधिकांश विदेशीले झन्डै दुई महिनासम्म प्रशिक्षण सेवा लिन्छन् भने रिट्रिटका लागि आउनेहरु करिब १५ दिनसम्म बस्ने गर्छन् । यसबाट नेपालले महत्वपूर्ण विदेशी मुद्रा आम्दानी गरिरहेको छ ।
नेपालमा अमेरिकन योगा अलाइन्सको प्रभाव
नेपालमा योग अभ्याससँग सम्बन्धित संस्थाहरु हाल अमेरिकन योगा अलाइन्समा आबद्ध भइरहेका छन् । अमेरिकामा स्थापना भएको यो गैरनाफामूलक संस्थाले बालबालिका, युवा, वृद्ध र अन्य समूहका लागि विशेष योग पाठ्यक्रम विकास गर्छ । यसमा आबद्ध हुने प्रशिक्षकहरुले वार्षिक सदस्यता नवीकरण गर्नुपर्छ । यसअघि भारत र अष्ट्रेलियाका योग संघहरुको प्रभाव रहे पनि हाल अमेरिकन योगा अलाइन्सको प्रभाव बढ्दो छ ।
योग अभ्यासका तीन स्वरुप
नेपालमा योग अभ्यास तीन प्रकारले भइरहेको पाइन्छ ।
शैक्षिक योग : औपचारिक रुपमा योग विषयमा अध्ययन गरेका प्रशिक्षकद्वारा प्रदान गरिने ।
तालिमप्राप्त योग शिक्षक : सर्ट टर्म कोर्स पूरा गरेका व्यक्तिहरुले सिकाउने ।
आध्यात्मिक योग : बाबा, साधु–सन्तमार्फत ध्यान, योग र आध्यात्मिक सेवा प्रदान गरिने ।
कहाँबाट आउँछन् योग पर्यटक ?
नेपालमा योग पर्यटनका लागि आउने विदेशीमध्ये युरोपेली देशहरु विशेषगरी फ्रान्सबाट सबैभन्दा धेरै आउने गरेका छन् । नेपाल र नेपालीलाई हेर्दा नेपालको सांस्कृतिक दर्शन र योगतर्फ फ्रान्सेलीहरु आकर्षित भएको फ्रान्सको एक विश्वविद्यालयमा नेपाली भाषा पढाइरहेकी प्राध्यापक सुमित्रा बुर्लाकोटी बताउँछिन् । उक्त विश्वविद्यालयले लामो समयदेखि नेपाली भाषा पढाइरहेको छ ।
फ्रान्सपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा र खाडी मुलुक योग पर्यटकका प्रमुख स्रोत राष्ट्र हुन् । पछिल्लो समय चीनबाट आउने योग पर्यटकको संख्या पनि बढ्दो छ । भारतमा योग केन्द्रहरु भीडभाडयुक्त भएपछि र चिनियाँ नागरिकलाई भारतीयले हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि चिनियाँ योग पर्यटकले नेपाललाई शान्त र सहज गन्तव्यका रुपमा रोज्न थालेका हुन् ।
नीतिगत अभाव र संरचनागत सम्भावना
नेपालमा योग पर्यटनको सम्भावना उच्च छ, तर सरकारको नीतिगत ध्यानको अभाव देखिएको छ । योगा तथा रिट्रिट केन्द्रहरुलाई आधिकारिक रुपमा दर्ता गराउने व्यवस्था, कर छुट सुविधा, संरचनागत पूर्वाधार (बाटो, बिजुली, सञ्चार)मा लगानी, तथा एकान्त र शान्त वातावरणयुक्त क्षेत्रहरु योग ग्रामका रुपमा चिनाउने काम सरकारले गर्न सके यो क्षेत्र पर्यटन आम्दानीको अर्को बलियो स्रोत बन्न सक्नेछ ।
थाइल्याण्डजस्ता देशले योग केन्द्रहरुलाई कर छुट प्रदान गरेर यो क्षेत्रको विकास गरिरहेको सन्दर्भमा नेपालले पनि अब सक्रिय भूमिका निर्वाह गर्न आवश्यक देखिएको छ । नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक पृष्ठभूमि योगका लागि अन्तर्राष्ट्रिय आकर्षण बन्न सक्ने क्षमतायुक्त छ । त्यसैले आवश्यक नीति, लगानी र समन्वयमार्फत योग पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
यस्तो अवस्थामा गर्नु हुँदैन योगा
नेपालमा पछिल्लो समय योग अभ्यासको दर बढेको छ भने हिमालयको देशबाटै योगा शुरु भएकाले नेपालमा योग सिक्नका लागि आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । योग गर्दा के–के कुराहरु गर्नु हुँदैन भन्ने जानकारी पनि सबैले राख्न जरुरी छ ।
खाली पेट योग गर्नु उत्तम
योग गर्नुभन्दा पहिले खाना खान हुँदैन । खाना खाएपछि योग गर्दा स्वास्थ्यमा प्रतिकूल असर गर्छ । भोमिटिङ, नोजिया र थकान बढी हुन सक्छ । खाना डाइजेस्ट गर्दा शरीरको शक्ति प्रयोग हुन्छ । त्यस्तो बेलामा योगा गर्दा थप समस्या निम्तिन सक्छ । त्यसैले खाली पेट योग गर्नु उत्तम हुन्छ ।
चोट–पटक लागेका बेला
तपाईलाई शरीरमा कहीं चोटपटक लागेको छ भने योगा गर्नु हुँदैन । कुनै भागमा चोट–पटक लागेको छ भने त्यहाँबाट थप रगत बग्ने, फ्युड बग्ने र चोट पटकमा इन्फेक्सनसमेत हुन सक्छ । त्यसैले चोटपटक लागेका बेला योगा गर्नु राम्रो होइन ।
मोबाइल प्रयोग गर्नु हुँदैन
योग गर्ने समयमा मोबाइलको प्रयोग गर्नु राम्रो होइन । योगा र मोबाइल दुवै एकसाथ गर्नु हुँदैन । यसले योगामा ध्यान दिन सकिंदैन । त्यसैले योगाको समयमा आफ्नो मोबाइल प्रयोग गर्नु राम्रो मानिंदैन । यसले नैराश्यता बढाउन पनि मद्दत गर्छ ।
योग अनुकूल कपडा
योग अभ्यासका लागि योग अनुकूलका कपडा मात्र प्रयोग गर्नुपर्छ । पसिना कम सोस्ने खालका कपडा लगाउँदा ध्यान केन्द्रित नहुन सक्छ । त्यस्तै, गलत कपडा प्रयोगले योग राम्रोसँग गर्न सकिंदैन भने कतिपय अवस्थामा कपडा च्यातिने हुन्छ । त्यसैले योगको समयमा सही कपडा प्रयोग गर्नुपर्छ ।
योगको समयमा कुराकानी गर्नु हुँदैन
योग गर्दै कुराकानी गर्दै गर्ने बानी पनि राम्रो होइन । यसले योगबाट हुने फाइदा हुन सक्दैन । त्यति मात्र होइन एक जनाले कुराकानी ग¥यो भने अरु सबैको समेत ध्यान विकेन्द्रित हुन्छ । त्यसैले योगको समयमा कुराकानी गर्नु राम्रो मानिदैन । योगको समयमा कम बोल्नु नै बुद्धिमान मानिन्छ ।
टावेल नजिकै राख्न भुल्नु हुँदैन
योगको समयमा टावेल आफू नजिकै राख्नु पर्छ । टावेल हुन नसके पनि हामीले रुमाल नजिकै राख्नुपर्छ । यसले पसिना सफा गर्न सहयोग गर्छ भने कहिलेकाहीं कपडा च्यातिएर हुने समस्याबाट पनि मुक्ति दिन्छ ।
बलको प्रयोग गर्नु हुँदैन
योगको समयमा बल प्रयोग गर्नु हुँदैन । उत्साहमा आएर जबरजस्ती योग गर्दा स्वास्थ्यमा प्रतिकूल असर हुन्छ । शरीरमा विभिन्न प्रकारका समस्या निम्तिन सक्छन् । त्यसैले बिस्तारै योग अभ्यास गर्नु राम्रो मानिन्छ ।
नेपाल योग पर्यटनको उत्कृष्ट गन्तव्य
डा. चिन्तामणि गौतम
योगगुरु
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आध्यात्मिक चेतनाले गर्दा नेपाल अब योग पर्यटनको सम्भावनायुक्त गन्तव्यका रुपमा स्थापित हुँदैछ । म विगत दुई दशकदेखि नेपालमा योग प्रवद्र्धन र योग पर्यटन विस्तारमा सक्रिय छु । पछिल्ला केही वर्षयता नेपालमा ध्यान, फिजिकल फिटनेस र दर्शनशास्त्रमा चासो राख्ने विदेशी योग पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

योग केवल शारीरिक अभ्यास होइन, यो जीवन दर्शन हो । वैदिक जीवनशैली, आयुर्वेद, तन्त्र, ध्यान र आध्यात्मिक चिन्तनसँग जोडिएको विषय हो योग । यही कारणले आज विश्वभर मानिसहरु योगको खोजीमा छन् र नेपालजस्तो शान्त, पवित्र र प्राकृतिक सौन्दर्यले भरिएको मुलुक तिनका लागि आदर्श गन्तव्य बन्न पुगेको छ ।
नेपालमा शिवको तान्त्रिक भूमि, गौतम बुद्धको ध्यान भूमि, ऋषिमुनिहरुको तपोभूमिको ऐतिहासिक पृष्ठभूमि छ । विश्वभरका आध्यात्मिक जिज्ञासुहरुका लागि नेपालको यो सन्दर्भले गहिरो प्रभाव पार्दछ । योगको उत्पत्तिसँग नेपाल पनि जोडिएको हो भन्ने सन्देश अहिले धेरै विदेशीहरुले दिन थालेका छन् ।
नेपालमा योगका लागि विदेशी पर्यटक विशेषगरी काठमाडौं र पोखरा रुचाउँछन् । यी दुवै शहरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका योग एकेडेमी र रिट्रिट केन्द्रहरु स्थापना भएका छन् । पछिल्लो समयमा लुम्बिनी पनि योग अभ्यासका लागि महत्वपूर्ण स्थल बन्दै गएको छ । गौतम बुद्धको जन्मभूमिको रुपमा लुम्बिनीले ध्यान र शान्तिको वातावरण दिन्छ, जसले विदेशी योगी र आध्यात्मिक यात्रीहरुलाई आकर्षित गर्छ ।
सरकारसँग अहिलेसम्म योग पर्यटनसम्बन्धी कुनै तथ्यांक छैन । तर, नेपाल योग एकेडेमी, योगमाण्डू, पञ्चेश्वरी योगा रिट्रिट लगायतका संस्थाका आन्तरिक तथ्यांक हेर्दा पछिल्लो दुई वर्षमा योग पर्यटन उल्लेखनीय रुपले बढेको छ ।
नेपाल योग एकेडेमीबाट मात्रै वार्षिक २ सय जना विदेशी योग शिक्षक तयार हुन्छन् । टिचर ट्रेनिङका लागि नेपाल आउने विदेशी विद्यार्थी दुई महिनासम्म बसोवास गर्छन् ।
उनीहरु दैनिक ६ देखि १२ हजार रुपैयाँसम्म खर्च गर्छन्, जसमा आवास, भोजन, प्रशिक्षण, ध्यान, आयुर्वेदिक उपचार, स्पा सेवा आदिका लागत सामेल छन् ।
रिट्रिटका लागि आउने पर्यटकहरु भने एक सातादेखि १५ दिनसम्म बस्छन् । उनीहरुको उद्देश्य विश्राम, आत्मअन्वेषण र मानसिक सन्तुलन प्राप्त गर्नुहुन्छ । ध्यान, आसन, प्राणायाम, वैदिक दर्शन, सत्कर्म, योग वर्कशप, हाइकिङ, स्पा, पञ्चकर्म लगायतका कार्यक्रमहरु सञ्चालन हुन्छन् ।
नेपालमा हाल १५ वटा योग संस्थानहरु छन् जसले नियमित प्रशिक्षण र पर्यटनसँग जोडिएका सेवाहरु दिइरहेका छन् । योगमाण्डूले मात्र हरेक वर्ष करिब ५ सय जना टिचर उत्पादन गर्छ । संस्थागत रुपमा मात्र होइन, व्यक्तिगत रुपमा तालिम दिने प्रशिक्षकहरुको संख्या पनि उल्लेखनीय छ ।
नेपालमा योग अभ्यासका लागि युरोपेली देशहरु, विशेषतः फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, स्विट्जरल्यान्ड आदि प्रमुख स्रोत हुन् । त्यस्तै अमेरिका, अष्ट्रेलिया, क्यानडा र जापानबाट पनि राम्रै संख्यामा पर्यटक आउने गरेका छन् । पछिल्लो समय चीनबाट पनि पर्यटकको चाप बढ्दै गएको छ । भारतमा केही असहजता बढेपछि चिनियाँ पर्यटक नेपालतर्फ आकर्षित हुन थालेका हुन् ।
नेपालमा योग पर्यटनको सम्भावना भए पनि यो क्षेत्र अझै सरकारी प्राथमिकतामा परेको छैन । योगका नाममा सञ्चालन भइरहेका एकेडेमी तथा रिट्रिट सेन्टरहरु आज पनि ‘होटल’ भनेर दर्ता गरिन बाध्य छन् ।
सरकारले अझैसम्म योग, ध्यान तथा आयुर्वेदसँग सम्बन्धित सेवाहरुलाई छुट्टै विधागत मान्यता दिइसकेको छैन । थाइल्याण्ड, भारत वा श्रीलंकाले जस्तै ‘ट्याक्स फ्री योग जोन’, ‘रिट्रिट भ्याली’ जस्ता अवधारणा ल्याउन सकिने सम्भावना छ । नेपालमा डाँडाकाँडा, जंगलको छेउ, शान्त एकान्त स्थानहरु प्रशस्त छन् । जहाँ अन्तर्राष्ट्रिय स्तरका योग केन्द्रहरु स्थापना गर्न सकिन्छ ।
तर, सरकारले न बाटो बनाएको छ, न बिजुली, न पूर्वाधार । मैले बारम्बार आग्रह गर्दै आएको छु– सरकारले कुनै डाँडोलाई योग क्षेत्र भनेर छुट्याओस्, त्यहाँ न्यूनतम पूर्वाधार बनाओस्, छाता संगठनमार्फत एकेडेमीहरुलाई समन्वय गराओस् । यसले नेपालमा योग पर्यटनको सुनौलो भविष्य निर्माण हुनेछ ।
कोरोना महामारीको समयमा भने सिंगो योग क्षेत्र शून्य अवस्थामा पुग्यो । यात्रा प्रतिबन्ध, क्वारेन्टाइन, होटल बन्द, तालिम स्थगित सबै ठप्प भए । तर, महामारीपछिको पुनरागमनमा योगको महत्व झन् बढेर आएको छ । मानिसहरु स्वास्थ्य र मानसिक सन्तुलनप्रति झनै जागरूक बनेका छन् ।
हाम्रो एकेडेमीमा महामारीपछि फेरि विदेशीहरु आउन थालेका छन् । झन् ती आउनेहरु अब योगलाई केवल ‘फिटनेस’ नभई ‘लाइफ स्टाइल’का रुपमा बुझ्न थालेका छन् ।
नेपालमा योग पर्यटनको सम्भावना मात्र होइन, सजीव आवश्यकता छ । यसले नेपाली अर्थतन्त्रमा रोजगारी, राजस्व र अन्तर्राष्ट्रिय सञ्जाल ल्याउन सक्छ । तर, यसका लागि राजनीतिक इच्छाशक्ति, नीतिगत स्पष्टता र पूर्वाधार विकास अनिवार्य छ ।
म यो क्षेत्रसँग मेरो जीवनको दुई दशक जोडिएको अनुभूत गर्छु । मैले आफैं संस्थागत रुपमा हजारौं विदेशीलाई प्रशिक्षण दिएको छु । तर, अझै पनि म भन्न सक्छु– नेपालमा योग पर्यटनले आकाश छुने सम्भावना छ । त्यसका लागि हामीले अब नीति, लगानी र दृष्टिकोण प्रष्ट पार्नुपर्छ ।