काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग भेट्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।
उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले भने,’ कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईंहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ ।’
प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद’ उनले भने ।
प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरेका छन् ।