नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो।


२४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । समझदारीमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो ।

जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ । यसरी नेपालमा कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने उसको प्रारम्भिक अनुमान छ ।