काठमाडौं । नेपालमा लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् । बिहीबार नेपाली संचारमाध्यमहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भएपनि नेपालमा लकडाउन नहुने बताएका हुन् । उनले सरकारले लकडाउन र सीमा नाका बन्द गर्ने पक्षमा नरहेको बताएका छन् ।
तर, स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कुनै सम्झौता नगरिने उनको भनाई छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले निरन्तर मास्क लगाउन, भिडभाड नगर्न सर्वसाधारणलाई सचेत गराइरहेका छन् । सरकारको तर्फबाट निरन्तर यस्तो सूचना जारी हुँदा आम सर्वसाधारणमा भने लकडाउन हुने हो की भन्ने शंका छ ।
यसअघिको लकडाउनमा उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणले सास्ती भोग्नु परेको थियो । अर्थमन्त्री पौडेलले सरकार यतिबेला बजेटको तयारीमा जुटेको जानकारी गराए । उनले आगामी बजेट कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने उल्लेख गरे ।