नेपालमा विद्युत अझै सस्तो हुने

तस्वीर सौजन्य : उर्जामन्त्रीको सचिवालय

काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो ।

समितिको पहिलो बैठकमा उर्जा मन्त्री पुनले विद्युत महसुल घटाउने तयारी भएको जानकारी गराएका छन् । मुलुक भित्रै विद्युतको पर्याप्त बजार रहेको भन्दै उनले त्यसका लागि विद्युतको अधिकत खपतमा प्रोत्साहन गर्ने नीति लिइएको उनले बताए ।

कार्यदललाई जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध विद्युत र निर्माणाधीन विद्युत आयोजनाहरुको समेत समग्र अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्न जिम्मेवारी तोकिएको छ।

बैठकमा तीन वटै मन्त्रालयका सचिव समेत सहभागी भएका छन् । बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ। ऊर्जा क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, उद्योग, बाणिज्य र आपूर्ति र वन तथा वातावरण मन्त्रालयका सचिवलाई कार्यदलको स्थायी आमन्त्रित सदस्यको जिम्मेवारी समेत तोकिएको छ ।