काठमाडौं । नेपालमा शान्तीपूर्ण प्रदर्शनमा समेत सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्ने गरेको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो पाइएको हो । नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा पनि अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।
एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०, २१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालमा आयोजना भएका शान्तिपूर्ण प्रदर्शनमा प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने गरेको देखिएको छ ।
नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ मार्फत न्यायिक अनुमति विना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको समेत जनाइएको छ । यो विधेयक भने अहिले संसदमा विचाराधिन अवस्थामा रहेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले पर्याप्त कानूनी सुरक्षा विना नै अधिकारीहरुलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने प्रावधानसहितको दूरसञ्चारसम्बन्धी विधेयक मस्यौदा तयार पार्दै अधिकार संकुचनमा पार्न खोजेको समेत प्रतिवेदनले जनाएको छ ।
यसका साथै आमसञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र सूचनाप्रविधि विधेयकमा संशोधन नभए नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेत संकुचन हुने बताइएको छ ।
कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल भएको समेत जनाएको छ ।
गत जुलाईमा अग्रिम सूचना नदिइकनै चितवन निकुञ्जका अधिकारीहरुले दुईवटा घरमा आगो लगाउँदै र हात्ती प्रयोग गरी अन्य आठवटा घर ध्वस्त पारेको घटनालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।