काठमाडौं । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने गरी प्रतिवन्ध लागेको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जनाएका छन् ।
नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।
यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको बोर्डको भनाई छ । यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुने अपेक्षा छ । अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।
बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्याइएको छ ।
नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।