नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ

काठमाडौं । नेपालमा एक जना व्यक्तिको हत्या गरि विदेश फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको जनाएको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्याको अभियोग गुरुङमाथि छ । उनी अहिले ४६ वर्षका छन् । गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याइएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिइएको छ ।

पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए । दुई जनाको झगडाका क्रममा गुरुङले राईको टाउकोमा दाउरा प्रहार गरेको र उनको उपचारका क्रममा २ जेठ २०६३ मा निधन भएको हो । घटनापछि फरार भएका गुरुङ पोखराबाट काठमाडौं पुगेको र त्यहाँ तीन महिना बसेर भारत हुँदै कुवेत पुगेको पाइएको छ । दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौंमा केही समय बसेर बहराइन गएको देखिएको छ ।