काठमाडौं । नेपालमा लकडाउन १२ दिन थप भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिसम्म आन्तरिक तर्फको हवाई उडान समेत बन्द हुने भएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द छ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।
त्यसयता नेपालमा कूल १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार मात्र दुई जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो समय र्यापिड टेस्टको दायरा बढेपछि विदेशबाट नेपाल फर्किएर अस्पतालमा चेकजाँच नगराई बसेका व्यक्तिमा धमाधम कोरोनाको पोजेटिभ देखिएको छ ।
सोहीकारण सरकारले परिक्षण र लकडाउनलाई सँगसँगै लैजान लागेको हो ।
लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिइने छ । त्यसबोहक अन्य कामका लागि भने बाहिर जान पाइने छैन ।
उता, भारत सरकारले समेत लकडाउन ३ मे सम्म लम्ब्याएको छ । सरकारले सीमा नाकालाई अझ कडाई गर्ने निर्णय समेत गरेको छ ।