नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

काठमाडौं । नेपालमा कोरोना परीक्षण भएका मानिसको संख्या ४९ हजार नाघेको छ । नेपालमा कूल ४९ हजार ३ सय ३६ वटा नमुना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल ४९ हजार ३ सय ३६ वटा नमुनापरीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको छ । तर, कुनै पनि नमुनामा पोजेटिभ नतिजा आएन् ।

देशभरका सबै जिल्लामा आरडिटी परीक्षण भइरहेको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ४ हजार १६०, प्रदेश २ मा ५ हजार ४४, बाग्मती प्रदेश ७ हजार ४६७, गण्डकी प्रदेशमा ४ हजार ८७१, प्रदेश ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २०४ वटा नमुनाहरु परीक्षण भएका छन्।

यी नमुनाबाट ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२ जना भने निको भएर घर फर्किसकेका छन् ।