नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ । शुक्रबार एकैदिन ५९ जना नयाँ बिरामी थपिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रवार साझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

साँझ थपिएका ९ सहित शुक्रबार ५९ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । नेपालमा ७० जनाले कोरोनालाइ जितेका छन् । शुक्रबार एकै दिन २१ जना डिस्चार्ज भए ।