नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयको आंकडा छ ।

पछिल्लो २४ घण्टामा खोप लगाएका र यस अघिको विवरण प्राप्त भएको समेत गरी थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।