नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ । अर्कोतर्फ निको हुनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । सोहीकारण सक्रिय संक्रमित र गम्भीर बिरामीको संख्यामा पनि उल्लेख्य कमी आएको देखिएको छ । तर, मृत्युदरमा भने सोचेजती प्रगति देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४ प्रतिशतले भाइरसलाई पराजित गर्न सफल भएका छन् । यो विश्वका अन्य मुलुकको तुलनामा निकै उत्साहजनक अवस्था हो । किनकी संसारमा अहिले पनि निको हुनेको संख्या ७० प्रतिशत हाराहारी मात्र रहेको छ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ मात्र रहेको छ । सोमबार मात्र १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

अब कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको छ ।