काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।
निर्यात वृद्धि ३२.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६र७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबर थियो । नेपालबाट भट्टमास, कफी, चिया, कार्पेट, आइरन, स्टिलजस्ता वस्तुको निर्यात बढी हुने गरेको छ ।
तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयात पनि उस्तै वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशत वृद्धि भएको छ । यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक विभागको छ । यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ ।
निर्यात र आयात दुबै बढेपनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ । यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ ।