नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

Photo : ekantipur

काठमाडौं । प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई नेपाल सरकारले राहत हस्तान्तरण गरेको छ । नेपाल सरकारको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत राहत लिएर पाकिस्तान पुगेको हो । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए ।

यस क्रममा नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा बाढीबाट प्रभावित नागरिकहरूलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको थियो। यस वर्षको जुन १४ यता वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा १२ सयभन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।