काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ ।
विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली खेलाडीले हानेको रन र लिएको विकेटका आधारमा अर्नाले कुल ६ लाख ७६ हजार रुपैयाँ दिनुपर्ने भएको हो ।
अर्नाले विश्वकप छनोटमा ब्याटिङतर्फ हरेक रनमा १ हजार, हरेक चौकामा १० हजार र हरेक छक्कामा २० हजार दिने घोषणा गरेको थियो । त्यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार, मेडन ओभरमा १० हजार र विकेटमा २५ हजार दिने घोषणा गरेको थियो ।
आजको खेलमा नेपालले सिंगापुर विरुद्ध १४७ रन हान्दै ८ विकेटले जित हात पारेको छ । पहिला ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
कम्पनीको घोषणा अनुसार आजको खेलको स्कोरमा ब्याट्सम्यानले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलरले २ लाख ८४ हजार रुपैयाँ पाउने भएका छन् । ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल एक्लैले मात्र १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार प्रतिरन १ हजारका दरले ७४ हजार, ८ चौकाको १० हजारका दरले ८० हजार र २ छक्काको २० हजारका दरले ४० हजार गरी कुल १ लाख ९४ हजार पाउने भएका हुन् ।
त्यस्तै, कप्तान रोहित पौडेलले ९५ हजार रुपैयाँ पाउने भएका छन् । २४ बलमा ३५ रन बनाएका रोहितले समान २र२ चौका र छक्का हिकाएका थिए । त्यसैगरी, २६ बल खेल्दै २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् ।
त्यस्तै, बलरतर्फ अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४ ओभरमा ९ डटबल फाल्दै ३ विकेट लिएका थिए । यस अनुसार ३ विकेटको प्रतिविकेट २५ हजार दरले ७५ हजार र ९ डट बलको ९ हजार गरी कुल ८४ हजार पाउने भएका हुन् ।
त्यस्तै, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । उनीहरुले १३/१३ डटबल फाल्दै दुई/दुई विकेट लिएका थिए । त्यसैगरी, २ विकेट लिँदै ११ डट बल फालेका करण केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।