काठमाडौं । नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आगामी चैत १० बाट दशरथ रंगशालामा शुरु हुँदै छ । थ्री नेसन्स कपका लागि टिकट दर समेत सार्वजनिक गरिएको छ । नेपाल, कीर्गिस्तान र बंगलादेशले खेल्ने यस प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष खेल हेर्ने सुविधा दिन लागिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रत्येक खेलमा अधिकतम १२ हजार दर्शकलाई मात्र रंगशालामा पठाइने छ । रंगशालाको क्षमता भने १५ हजार हो । एन्फाले साधारण प्यारापिटतर्फ १० हजार पाँच सय सीट बेच्ने छ । भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्रि गर्ने भएको छ ।
साधारणतर्फको टिकट मुल्य ७ सय रुपैयाँ र भिआइपीतर्फको टिकट मुल्य १५ सय रुपैयाँ राखिएको छ । नेपाल, बंगलादेश र किर्गिस्तानका यु २३ टिमबीच प्रतियोगिता हुन लागेको हो । विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । उपविजेताले ३ हजार डलर प्राप्त गर्ने छ।
प्रतियोगितामा भाग लिन बंगलादेशको टिम बिहीबार नेपाल आइपुग्ने र कीर्गिस्तानको टिम आइतबार नेपाल आउने भएको छ । प्रतियोगितामा भाग लिन भारतको आइ लिग खेलिरहेका गोलकिपर किरण चेमजोङ र फरवार्ड अभिषेक रिजाल नेपाल आउने भएका छन् ।
कपको पहिलो खेलमा आगामी चैत १० गते कीर्गिस्तान र बंगलादेश भिड्ने छन् । चैत १२ मा दोस्रो खेलमा नेपाल र कीर्गिस्तान भिड्ने एन्फाले जनाएको छ । चैत १४ गते नेपाल र बंगलादेश भिड्ने तालिका छन् ।
तीन टिम एकआपसमा प्रतिस्पर्धा गरेसँगै अंक तालिकाको शीर्ष दुई टिमबीच चैत १६ मा फाइनल हुने कार्यक्रम छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालको राष्ट्रिय टीम प्रतिस्पर्धामा उत्रन लागेको हो ।