नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो।

आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्टको बजार विस्तार गर्दै लैजाने उनले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने उल्लेख गरेको थियो। ८ प्रतिशत नगद अनुदान पाउने भएपछि उद्योगीहरू उत्साहित भएका छन्। जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।