काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रशिक्षण करियरका सफल व्यक्ति मानिन्छन् । यसअघि उनले पाकिस्तान र श्रीलंकाको राष्ट्रिय टोलीलाई सम्हालिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यानले बिहिबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि वाटमोरसहित १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । उनको मासिक पारिश्रमिक करीव १० हजार डलर आसपास हुने भएको छ ।
क्यानले महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएको जनाएको छ । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्ने भएका हुन् । उनीहरुको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुने भएको छ ।
वाटमोर श्रीलंकामा जन्मिएका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए । एक दशक खेलाडी बनेका उनले १९८८, ८९ को सिजनबाट सन्यास लिएका थिए । त्यसपछि प्रशिक्षणमा लागेका उनी सफल प्रशिक्षकका रुपमा गनिन्छन् । श्रीलंकाका लागि उनले १९९६ मा प्रशिक्षकका रुपमा विश्वकप जिताएका थिए ।
श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगेका थिए । उनले टीमलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताएका थिए । त्यसपछि उनी पुनः श्रीलंका फर्किए ।
त्यसपछि उनको नेतृत्वमा श्रीलंकाले पुनः १९९९ को विश्वकपमा भाग लियो । २००३ को विश्वकप समेत श्रीलंकाले उनकै प्रशिक्षणमा खेलेको थियो । त्यसपछि उनी बंगलादेशको प्रशिक्षक बने । २००५ मा बंगलादेशले जिम्बाब्वेविरुद्ध पहिलो टेष्ट म्याच जित्दा उनी नै प्रशिक्षक थिए ।
सोही वर्ष एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै बंगलादेशले इतिहास रचेको थियो । २००७ को विश्वकप बंगलादेश उनकै नेतृत्वमा खेलेको थियो ।
२०१० र २०११ मा उनी आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका थिए । २०१२ मा उनी पाकिस्तान टिमको प्रशिक्षक बनेका थिए ।
त्यसपछि उनी जिम्बाब्वेको राष्ट्रिय प्रशिक्षक बनेका थिए । २०२० फेब्रअरीयता सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका उनी अब नेपाली टीम सम्हाल्न आएका हुन् ।