नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, “आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवर्धन सरकारको मुख्य प्राथमिकतामा रहेको छ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई थप प्रचारप्रसार तथा प्रवर्धन गर्न मद्दत पुग्दै आएको छ ।”


पर्वतीय पर्यटन क्षेत्रको विकाससँगै नेपालको मौलिक संस्कृति, सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य तथा सम्पदा क्षेत्रको प्रवर्धनमार्फत पर्यटकीय सम्भावना र गतिविधिलाई विश्व बजारमा चिनाउँदै लैजानुपर्ने उनले बताए । नेपाललाई योग र ध्यान केन्द्र बनाउन बजारीकरण र प्रवर्धन गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा हुँदै आएको ट्राभल मार्ट नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्ने थलोका रूपमा सफल रहँदै आएको धारणा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले यसबाट महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा समेत सहयोग पुग्ने बताए ।

पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरीले मार्टमा सहभागी देश विदेशका विज्ञ पर्यटन व्यवसायीले पर्यटकीय सम्भावनाका विविध आयामबारे दिने प्रस्तुतीकरणले नेपाललाई विश्व बजारमा पहिचान गराउन प्रवर्धनात्मक गतिविधिमा बल पुग्ने बताए । उनले भने, “रिकनेक्टिङ, रिबिल्डिङ र रिइन्भिगोरेटिङ भन्ने मूल नारासाथ सुरु भएको मार्टमार्फत अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिएका छौँ ।”

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्न मार्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विश्व चर्चित ब्लगर्स, बायर्स र सञ्चारमाध्ययमको जमघटमार्फत नेपालको पर्यटन प्रवर्धनमा मेला कोसेढुङ्गा साबित हुने उनले बताए ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश बडालले यो संस्करणमा नेपालबाहेक २५ देशका झन्डै एक सय आगन्तुक आएको बताए । पर्यटन क्षेत्रका क्रेता र बिक्रेताहरू आउने नेपालकै सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रममा धेरैको चासो रहेको उनको भनाइ छ । मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउँदै छन् ।