काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण असफल बनाएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट नेपाली शान्ती सेनाले जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
यो सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म उक्त शहरमा परिचालन भएको थियो । त्यसपछि विद्रोही समुह पछि हट्न बाध्य भएको निर्देशनालयले उल्लेख गरेको छ ।
नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः उक्त सहर नियन्त्रणमा लिएको बताइएको छ ।
नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारिदिएको हो ।
यो घटनामा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको सेनाको भनाई छ । नेपाली शान्ति सैनिकतर्फ सबै जना सकुशल रहेको सेनाले उल्लेख गरेको छ । उक्त मुलुकमा आगामी आइतबार आम निर्वाचन समेत हुँदैछ ।