काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो ।
हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।
सूचकमा उछाल आए पनि कारोबार रकममा भने खासै बढोत्तरी आउन सकेन । आज करिब साढे ९ अर्बको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से आज ७१.४३ अंकले घटेर २९४७.४२ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ९ अर्ब ४४ करोड रुपैयाँ बढीको १ करोड ७१ लाख कित्ता बढी सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हिरयाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ५.१३ प्रतिशत, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबारमा आएका २३१ कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४५ र अपी पावर ३१ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
उच्च अंकले बढेको बजारमा आज एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपी पावर, नेशनल, आँखुखोला, छ्याङ्दी, पाँचथर पावर, लिबर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, हिमालयन पावर, सिनर्जी पावर, ङादी पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।बढ्दो बजारमा आज सिटिजन्स् म्युचुअल फण्ड १ का इकाईधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् ।