नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ ।

बुधबार सेयर बजार मापक सूचक नेप्से ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.८७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर ४.२२ प्रतिशत र विकास बैंक ३.१७ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीमध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी साढे १८ करोड र नेपाल बैंक १६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपी पावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कालिका पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, हिमालयन ऊर्जा, छ्याङी हाइड्रोपार र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.९२ प्रतिशत गुमाएका छन् ।