नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।

यो सिरिज सन् २०२० मै हुनुपर्ने थियो । तर, कोरोना भाइरसको महामारीका कारण स्थगित भएको हो । विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजका खेल तालीका आईसीसीले सार्वजनिक गरेको छ । जसअनुसार नेपालले २०२१ जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्ने भएको छ ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासहित पहिलो लिग २ सिरिज खेलेको हो । यस सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेलमा हार बेहोरेको हो । आगामी सिरिजमा सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग सिरिज खेल्ने भएको छ ।

त्यसपछि नेपाल सन् २०२२ मार्चमा नामिविया भ्रमणमा जानेछ । यस सिरिजमा स्कटल्याण्ड समेत सहभागी हुनेछ । सन् २०२२ को जुलाईमा नेपाल र ओमानले अमेरिकामा सिरिज खेल्ने भएका छन् । सन् २०२२ सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पीएनजीमा सिरिज खेल्न नेपाल जानेछ ।

सन् २०२३ मा नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज घरेलु मैदानमा खेल्ने भएको छ । लिग २ अन्तर्गत अन्तिम सिरिज नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा खेल्ने गरी तालीका तय भएको छ ।

यस सिरिजमा नेपालले पीएनजी र युएईसँग खेल्ने भएको छ । लिग २ का सिरिजहरूबाट शीर्ष ३ स्थानमा रहने राष्ट्रले आईसीसी क्रिकेट विश्वकपको मुख्य छनोटका लागि स्थान बनाउने भएका छन् ।

विश्वकपको लागि अन्तिम छनोट २०२३ जुन १८ देखि जुलाइ ९ सम्म जिम्बावेमा हुनेछ । यस प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । यो प्रतियोगिताको शीर्ष दुईमा रहने टोली विश्वकप खेल्नेछन् ।