काठमाडौं । नेपालमा घुमफिरमा आउने पर्यटकमध्ये तेस्रो स्थानमा अमेरिकी नागरिक छन् । नेपाल पर्यटन बोर्डले मंगलबार मार्च २०२५ को पर्यटक आगमनको संख्या सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा भारतीय छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो । अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ य ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ ।
२०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यो बेला १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएको देखिएको थिए । भारत सहित दक्षिण एसियाली भेगकै पर्यटक आगमन खस्किएपछि त्यसको असर पर्यटक आगमनमा देखिएको हो । मार्चमा दक्षिण एसियाली देशबाट अघिल्लो वर्ष ४० हजार ७ सय २७ र यस वर्ष ३५ हजार २ सय ८७ पर्यटक आएका छन् । जुन १३।४ प्रतिशत कम हो ।
उता, युरोपबाट हुने आगमन समेत यस महिना १०.५ प्रतिशतले खस्किएको छ । मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ । अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ । यस्तै प्रवृत्ति फेब्रुअरी २०२५ मा समेत देखिएको थियो । मार्च २०२५ मा सबैभन्दा धेरै भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन् ।
यस महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन् । अमेरिकी पर्यटक तेस्रो स्थानमा छन् । यस महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन् । चौथोमा श्रीलंकन देखिएका छन् । श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन् । पाँचौं स्थानमा बेलायत छ । त्यहाँबाट ५ हजार ९ सय ९५ जना आएका छन् ।